रविलाई थप हिरासतमा राख्न र स्वास्थ्य जाँच गराउन अदालतको आदेश

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन थप हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो । सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न पाउनुपर्ने माग गरे पनि अदालतले ४ दिनको मात्रै अनुमति दिएको हो । जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार अदालत लगिएको हो ।

अदालतले लामिछानेको स्वास्थ्य जाँच गरी त्यसको रिपोर्ट पेस गर्न पनि आदेश दिएको छ । चितवनमा बयान सकाएर गएको बुधबार राति लामिछानेलाई पोखरा ल्याइएको थियो । त्यति बेला लामिछानेमा उच्च रक्तचाप रहेको तर चितवन प्रहरीले औषधि समेत खान नदिएको र अमानवीय कार्य गरेको भन्दै उनीनिकट व्यक्ति र रास्वपा नेता–कार्यकर्ताले विरोध जनाइरहेका छन् । “प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराई उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेस गर्नू र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरूको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नू÷नगराउनू भनी जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखी पठाउनू,” आदेशमा भनिएको छ ।

मानवअधिकार आयोग गण्डकीको टोलीले शनिबार (हिजो) लामिछानेलाई भेटेको थियो । त्यसक्रममा लामिछानेले चितवनमा आफ्नो स्वास्थ्य जाँच गराउन भने पनि प्रहरीले नमानेको बताएका जनाइएको छ । पोखरामा स्वास्थ्य जाँच गर्दा आफ्नो रक्तचाप १८०÷९० देखिएको उनले बताएका टोलीको भनाइ छ । मानवअधिकार आयोगको टोलीले प्रहरीको यो कार्य अमानवीय रहेको जनाएको छ । अदालतले पनि लामिछानेको स्वास्थ्य जाँचका विषयमा बोलेको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार अनुसन्धान भइरहेको छ । लामिछानेलाई काठमाडौं, बुटवल र चितवनमा रहेका सहकारी ठगीमा पनि संलग्न रहेको आरोपमा बयानका लागि लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *