विद्रोहीले गरे सिरिया कब्जा, राष्ट्रपति असाद देश छाडेर भागे !

नेपाल दर्पण, काठमाडौं ।

सिरियाका राष्ट्रपति बसर अल असाद देश छाडेर भागेका छन । विद्रोहीहरुले प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेर भागेका हुन । एचटीएएस राजधानी दमास्कस प्रवेश गरेको केहीक्षणमा नै सिरियाका राष्ट्रपति बसर अल–असदले छेश छोडेर भागेको दाबी विद्रोही समूहले गरेको छ । तर असद कहाँ गए भन्ने कसैले भन्न सकेको छैन ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ । सिरियाका विद्रोही समूहले हमा, देरा र तेस्रो ठूलो शहर होम्स समेत कब्जा गरिसकेका छन् । होम्स शहर कब्जा गर्नु विद्रोहीका लागि निकै महत्वपूर्ण मानिएको छ । होम्स कब्जा भएसँगै राजधानी दमिस्कको सम्पर्क अरु शहरबाट टुटेको छ । मिडिया रिपोर्टहरुका अनुसार राजधानी दमिस्कमा गोली चलेको आवाज सुनिएको छ ।

विद्रोहीहरु उत्तर, पूर्व र दक्षिणतर्फबाट अगाडि बढेपछि उनीहरुलाई रोक्न सरकारी सेनालाई आपत् परेको थियो । यसअघि नै राष्ट्रपति असादले देश छाडेको हल्ला चले पनि उनको कार्यालयले त्यसलाई खण्डन गरेको थियो । सिरियाका आन्तरिक मामिला मन्त्रीले भने राजधानी दमिस्कको चारैतर्फ बलियो सैन्य घेरा रहेको दाबी गर्दै त्यसलाई कसैले पनि पार गर्न नसक्ने बताएका थिए ।
तर केही स्थानमा सरकारी सेना विद्रोहीहरु सामु निरीहजस्ता देखिएका छन् । कुनै स्थानमा विद्रोहीहरुलाई रोक्ने कोसिस समेत नगरेको, कुनै स्थानमा आत्मसर्पण गरेको र कुनै स्थानमा उनीहरु आफ्नो स्थान छाडेर भागेको बीबीसीले लेखेको छ ।

विद्रोहीहरुले राष्ट्रपति असदका पिता हाफिज अल असद लगायतको प्रतिमा तोडफोड गर्दै अघि बढेको भिडियो फुटेज सार्वजनिक भएको छ । विद्रोहीहरूले सैदनाया जेलबाट हजारौं कैदीहरूलाई रिहा गरेको बताएका छन् । यस जेलमा असदका विपक्षीहरूलाई यातना दिइएको थियो । इरान समर्थित हिजबुल्लाहले केही क्षेत्रबाट आफ्ना लडाकुहरूलाई फिर्ता लिएको बताएको छ । गत हप्ता एचटीएसले सिरियाको दोस्रो ठूलो सहर अलेप्पो र हामाका उत्तरपश्चिमी सहरहरूलाई कब्जा गरेको थियो । त्यसपछि तेस्रो ठूलो शहर होम्स कब्जा गरेको थियो । होम्स कब्जा गरेपछि विद्रोही राजधानी प्रवेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *