रविलाई भेट्न कास्की जेल पुगे डा.बाबुराम भट्टराई
नेपाल दर्पण, कास्की ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जेलमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन । रविलाई भेटेपछि सञ्चार माध्यमसँग कुरा गर्दै उनले सभापति लामिछानेलाई प्रतिशोधपूर्ण व्यवहार गरिएको र अस्वभाविक रुपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताए । सहकारीसम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरुकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप लगाए ।
“उहाँ (रवि लामिछाने)लाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अलि अस्वाभाविक लागेर अन्यायपूर्ण भो भनेर नै मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हो,” उनले भने, “स्वस्थ नै हुनुहुँदो रहेछ ।” शुक्रबार बिहान डा. भट्टराई लामिछानेलाई भेट्न जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । उनलाई भेटेर फर्किएपछि भट्टराईले सञ्चारकर्मीसित भने, “यो अलिकति प्रतिशोधपूर्ण भयो भन्ने मैले बुझ्छु एउटा पाटो । अर्को पाटोचाहिँ सहकारीसम्बन्धी जुन समस्या छ, त्यसको जरो धेरै फैलिएको छ ।”
आफूमाथि राजनीतिक प्रतिशोध साधिएको लामिछानेले पनि बताएको उनले जानकारी दिए । “म (रवि लामिछाने)माथि यो राजनीतिक प्रतिशोध नै लिएको हो । मैले त सहयोग गरिरहेकै छु, गर्छु,” लामिछानेको भनाइ उद्धृत गर्दै उनले भने । सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा लामिछाने प्रहरी हिरासतमा छन् । कास्कीसहित अरू जिल्लामा पनि उनीविरुद्ध पक्राउ पुर्जी र बयान लिने कार्य जारी छ । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट गएको कात्तिक २ गते उनलाई पक्राउ गरिएको हो । डा. भट्टराईले एक व्यक्तिलाई पक्राउ गरेर दुःख दिने र वास्तविक विषय ओझेलमा पार्ने कार्य गरिएको बताए । सहकारीपीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको उनको बुझाइ छ । सहकारीपीडितको समस्या छिटै समाधान गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराए । निष्पक्ष सरकारी अनुसन्धानमा सहयोग गर्नुपर्ने र कानुनानुसार अघि भने बढ्नुपर्ने उनले बताए ।
उनले भने, ‘रविजीलाई मैले हामीले नयाँ शक्तिको अभियान शुरु गरेपछि जुन राजनीतिक शक्तिहरु उदय भइरहेको छ । ति मध्येको एउटा सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा बुझ्छु । त्यसैले उहाँप्रति सधैँ नै सद्भाव पनि छ । तर जुन प्रकारले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ । योप्रति अस्वभाविक लागेर अन्यायपूर्ण भयो भनेर नै मैले आफ्नो ऐक्यवद्धता जनाउन यहाँ आएको हो। उहाँको स्वास्थ्य कस्तो छ भनेर हो । उहाँ स्वस्थ नै हुनुहुँदो रहेछ । तर पनि यो अलि प्रतिशोधपूर्ण नै भयो भनेर बुझ्छु।’