पर्सामा पनि रविलाई पक्राउ पुर्जी जारी, चितवनमा प्रहरी-कार्यकर्ता भिडे
नेपाल दर्पण, चितवन ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच भएको झडप भएको छ । झडपमा परि ८ प्रहरीसहित २४ जना घाइते भएका छन् । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहरा प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले बताएका छन ।
उनका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । “प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन”, प्रहरी उपरीक्षक मिश्रले भने । जिल्ला प्रहरी कार्यालय अगाडि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले बताए ।
प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए । रविलाई मङ्गलवार काठमाडौँबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका र विभिन्न जिल्लाबाट पक्राउ पुर्जी जारी भई बयानमा रहेका रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएको हो । पर्साको सानो पाईला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा प्रहरीले अनुसन्धान गर्नको लागि जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको हो । यसअघि लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि सहकारी ठगी प्रकरणमा बयान लिइसकेको छ । चितवनमा भने बयान जारी नै छ ।