रवि र दुर्गा प्रसाईँलाई सरकारले अनावश्यक तनाव दिदैःकमल थापा
नेपाल दर्पण, काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र व्यवसायी दुर्गा प्रसाईँलाई सरकारले अनावश्यक तनाव दिने काम गरेको बताएका छन् । थापाले रवि लामिछानेलाई अनुसन्धानको नाममा नयाँ नयाँ आरोप थप्दै लगेकोमा असहमति जनाएका छन् । आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडा भएको उनको भनाइ छ ।
थापाले अनुसन्धानमा रहेका रविबारे दोषी वा निर्दोषको फैसला अदालत र कानूनले गर्ने भन्दै त्यसमा आफ्नो कुनै टिप्पणी नभएको बताएका छन् । उनले अपराधीले उन्मुक्ति पाउन नहुनेपनि बताएका छन् । तर, अनावश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियतमाथि प्रश्न खडा भएको टिप्पणी गरेका छन् । उनले लामिछानेमाथि यथाशिघ्र अनुसन्धान टुँग्याई अदालतमा बुझाउन आग्रह गरेका छन् ।
‘रवि, छवि, दुर्गा प्रहरी अनुसन्धानमा छन् । निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ । मेरो कुनै टिप्पणी छैन । अपराधीले उन्मुक्ति पाउनु हुँदैन’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘तर, अनावश्यक ढङ्गबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडा भएको छ ।’ उनले तिनै जनामाथि शीघ्र अनुसन्धान टुङ्गाइ अदालतमा बुझाउन आग्रह गरेका छन् । रवि र छवि सहकारी ठगीसम्बन्धी अनुसन्धानमा छन् भने प्रसाईंलाई फर्जी डकुमेन्ट सार्वजनिक गरेर साइबर अपराध गरेको आरोप लगाइएको छ ।