NPL:ओपनिङ खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो

नेपाल दर्पण, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को ओपनिङ खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराएको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउदै पूरा ग¥यो । मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए । विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाएका थिए ।

कप्तान अनिल शाह पनि व्यक्तिगत ५ रनमा आउट हुदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनललाई बोल्ड गरेका थिए । तर त्यसपछि मिलान्था र हर्श थाकरले मिलेर इनिङ्स समाले । यो जोडीले तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् ।

पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल उनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए । त्यसअघि एनपीएलको पहिलो चौका विराटनगरका लोकेश बमले प्रहार गरेका थिए । तर उनलाई आउट गर्दै जनकपुरका ललित राजवंशी एनपीएलको पहिलो विकेट लिने खेलाडी बने । ६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । तर इल्यास पनि १५ रन बनाएर आउट भए । त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन् । निकोलस किर्टोन ९, बसिर अहमद ७,राजेश पुलामी मगर १, प्रतिश जिसी २, कप्तान सन्दीप लामिछाने ७, क्रिस सोल ४ र तथा जितेन्द्र मुखिया खाता नखोली आउट भए । जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै क्यानडियन अलराउण्डर हर्श थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *