पक्राउ परेको ४१ औं दिनमा रविलाई काठमाडौं ल्याइयो
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको हो । आज (बिहीबार) बुद्ध एयरलाइन्सको जहाजमार्फत उनलाई काठमाडौं ल्याइएको हो ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा समेत संलग्नता रहेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही सहकारी ठगीको अनुसन्धानको लागि उनलाई काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं ल्याउन लागिएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कडा सुरक्षा व्यवस्थाका बीच रविका समर्थकहरूले विमानस्थलबाहिर नाराबाजी गरे । उनीहरूले ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ,’ ‘राजनीतिक प्रतिशोध बन्द गर’लगायत नारा लगाएका थिए ।
गएको कात्तिक २ गते रविलाई काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । आज ४१ औं दिनमा उनलाई काठमाडौं ल्याइएको हो । लामिछानेमाथि चितवनको सहारा सहकारी ठगीको समेत आरोप छ । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो ।