१ लाख ७१ हजारमा कारोबार भएको सुन १ लाख ४८ हजारमा किन झर्यो ?

नेपाल दर्पण, काठमाडौं ।

नेपाली बजारमा मंसिर १० गते सुनको मूल्य ह्वात्तै घटेपछि ग्राहकहरु आश्चर्यमा परेका छन । तीन सातामा नेपाली बजारमा सुनको मूल्य २३ हजारले झरेको छ । कार्तिक १५ गते सुन १ लाख ७१ हजारमा कारोबार भएको थियो भने अस्ति १ लाख ४८ हजारमा कारोबार भएको थियो । अस्ति एक्कासी सुनको भाउ प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेपछि धेरै नागरिकले आश्चर्यमा परेका थिए । जे होस निरन्तर उकालो लागेको सुनमा ह्वात्तै सुन मूल्य घट्दा ग्राहकका लागि केही राहत पक्कै भएको छ ।

सुनको मूल्यमा भारी गिरावट आएपछि सुन पसलमा ग्राहकहरूको भिड लागेको छ । कतिपय ग्राहकहरूले सुन नपाएको गुनासो गरेका छन् । गत बिहीबार मन्त्रिपरिषद्को निर्णयले सुनको भन्सार करमा आधा घटाइदिएपछि सुनको मूल्यमा प्रभाव परेको हो । सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरिदिएको छ । नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशङ्काकाबीच सरकारले भन्सार दर घटाएको हो ।

अमेरिकी राष्ट्रपतिमा ड्रोनाल्ड ट्रम्प निर्वाचित भएपछि सुनको भाउमा कमी आएको थियो । उनी निर्वाचित भएसँगै बिटक्वोइनको भाउ बढ्नु, अमेरिकी सेयर बजार बढ्नुले पनि सुनको मूल्य घट्नु मुख्य कारण मानिएको छ । ‘अमेरिकी सरकार त्यसमाथि ट्रम्पले बिटक्वाइन महत्व दिएकाले पनि बिटक्वाइनको मूल्य बढेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ । उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् ।

भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार नौ सय ४७ किलोग्राम सुन आयात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा मात्र रू एक अर्ब ४२ करोड ७५ लाख २८ हजार बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा रू २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार बराबरको दुई हजार नौ सय १७ किलोग्राम सुन आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७६÷७७ मा रू १३ अर्ब ४६ करोड पाँच लाख बराबरको दुई हजार चार सय किलोग्राम सुन आयात भएको थियो भने त्यसबाट रू एक अर्ब ५० करोड ७५ लाख बराबर राजस्व सङ्कलन भएको थियो ।

स्थानीय बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । यसदिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा २६ सय रुपैयाँ घटेको थियो । यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *