मानव तस्करीको आरोपमा पक्राउ एमाले नेता विरुद्ध मुद्दा नचलाउने निर्णय

नेपाल दर्पण, काठमाडौं ।

मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी गत कार्तिक २५ गते पक्राउ गरेका थिए । जापानको अध्यागमन विभागबाट अधिकारीसहित ४ जना डिपोर्ट भएका थिए । उनी जापानको एक कार्यक्रममा भाग लिन जापान गएका थिए । कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका थिए । सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका तत्कालीन मन्त्री अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको भेटिएको थियो ।

जापान जाँदा नक्कली कागजात बनाएर मन्त्रालयसँग असम्बन्धित मान्छे लगेको उनीमाथि आरोप छ । तत्कालीन मन्त्री अधिकारीसँग जापान गएका ३ जनाले आफूहरुले १० लाखदेखि १४ लाखसम्म पैसा तिरेर गएको प्रहरीसमक्ष बयान दिएका छन् । टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ परेका थिए । पक्राउ पर्ने बिचौलियाहरूमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल छन् ।

दावा शेर्पाका भाइ जापानमा बस्छन् । नेपालमा ट्रेकिङ्गको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए । त्यही चिनजानका कारण जापान जान दावाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार डिपोजिट गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । देवकोटाले जापान जान १० लाख बुझाएको भेटिएको छ । कार्तिक १४ मा डिपोर्ट भएर फर्केपछि उनीहरु काठमाडौँ विमानस्थलमा पक्राउ परेका थिए । जापानबाट फिर्ता भएका शेर्पाले खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाएको भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *