ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा सिके राउत
नेपाल दर्पण, काठमाडौं ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राउतले केन्द्र सरकारसँग अन्तुष्टि राख्नुको कारण भने पार्टीले आफ्नै सांसद गोमालाभ सापकोटालाई कारबाही गर्न पटक पटक सिफारिश र ताकेता गर्दापनि सभामुख देवराज घिमिरेले नमान्नु रहेको छ ।
यस्तै अर्कोे कारण कांग्रेस–एमालेले मधेश प्रदेशको सरकारबाट जनमतलाई विस्थापित गर्ने तयारी गरेको सुईंको पाएपछि राउतले पनि केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । उनी कम्बोडिया भ्रमणमा भएकोले निर्णय लिन केही ढिलाई भएको बुझिएको छ । तर, उनी आजै काठमाडौं ओर्लिएकाले भोलिसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने उच्च स्रोतको दाबी छ ।
सभामुख घिमिरेले सापकोटालाई कारबाही गर्न नमिल्ने निर्णय सुनाएपछि राउत असन्तुष्ट छन् । यही विषयले उनी केन्द्र सरकारसँग फायर छन् । प्रधानमन्त्री ओली भने अर्को साता चीन भ्रमणमा निस्किन लागेका छन् । भ्रमणको पूर्वसन्ध्यामा राउतले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाब सिर्जना गर्न खोजेका छन् ।