काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग बिच्कियो एमाले

नेपाल दर्पण, काठमाडौं ।

नेकपा एमालेले काठमाडौं महानगरपालिका एमालेविरुद्ध परिचालित भएको आरोप लगाएको छ । दरबारमार्गमा शुक्रबार जागरणसभाका क्रममा फोहोर गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेपछि महासचिव शंकर पोखरेलले यस्तो आरोप लगाएका हुन् । सामाजिक संजालमा लेख्दै महासचिव पोखरेलले आफ्ना स्वयंसेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै गर्दा मेयरको निर्देशनमा जरिवानाको पर्चा सार्वजनिक गरेर स्टण्टबाजी गरिएको टिप्पणी गरेका छन् ।

‘मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टण्टवाजीमा थियो, जुन समयअगावै सार्वजनिक गरियो’, पोखरेलले लखेका छन्, ‘नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई ।’ आफूहरुको जागरणसभा यो प्रकारको स्टण्टबाजी गर्नेलाई सचेत बनाउन पनि रहेको पोखरेलले बताएका छन् ।

यस्तै नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमालेसँग १ लाख भिख मागेको टिप्पणी गरेका छन् । जागरण सभा नसकिँदै जरिवानाको पत्र आएपछि आक्रोशित बनेकाबस्नेतले मेयर बालेनले भिख मागेको टिप्पणी गरेका हुन् । बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरणसभाका क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तोकेको हो ।

महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ । नेता बस्नेतले बालेनले गरेको सो निर्णयलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै टिप्पणी गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *