३० करोड बढी कमाएको र हाउसफुल भैरहेको ‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट किन उत्रियो ?
नेपाल दर्पण, काठमाडौं ।
कात्तिक १५ गतेबाट सिनेमा हलमा ब्लकबस्टर बनिरहेको नेपाली सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले २० वटा हलबाट सिनेमा उतार्ने ‘बोल्ड’ निर्णय लिएको छ । फिल्म निर्माण कम्पनी सेभेन सेजले एक विज्ञप्ति जारी गर्दै देशभर हाउसफूल रुपमा चलिरहेको भएपनि केही कारणले चलचित्र उर्तानु परेको जानकारी दिएको छ । स्रोतका अनुसार हलवालाले दिएको चलचित्रको व्यायापारको हिसाव–किताव नमिलेपछि निर्माण टिमले चलचित्र उतार्ने निर्णय लिएका हुन् ।
हाउसफुल अकुपेन्सीमा सिनेमा प्रदर्शनमा आए पनि निर्माण पक्षलाई निकै कम ग्रस कलेक्सन मात्र उपलब्ध गराएपछि फिल्म हलबाट उतार्ने निर्णय गरिएको निर्माण पक्षले बताएको छ । विज्ञप्तिमा अरुण हल विराटनगर, निलम सिनेमाज् जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिबास हल बर्दिबास, विराट चोक हल मोरङ, सिबी हल इनरुवा, एभरेष्ट हल राजगढ, धनकुटा हल धनकुटा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रीमूर्ति हल र गिरिराज हल जनकपुरबाट सिनेमा उतारिएको हो ।
अधिकांश चलचित्र घरहरूको चलचित्र प्रदर्शन इजाजतपत्र रद्द भइसकेको चलचित्र विकास बोर्डले जनाएको छ । ‘इजाजतपत्र नवीकरण तथा नयाँ इजाजतपत्र लिई बक्स अफिस सिस्टम जडान गरी चलचित्र प्रदर्शन गर्ने, गराउने सम्बन्धमा बोर्डबाट यसअघि नै लिखित एवं मौखिक जानकारी गराई कडा सचेतना गराइएको तथ्य स्मरण गर्न चाहन्छौँ’, एक विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ । तर, ती चलचित्र घरहरूले प्रचलित कानुनको उल्लंघन गर्दै लुकिछिपी चलचित्र प्रदर्शन गर्ने र गराउने, बक्स अफिस प्रणालीलाई बेवास्ता गरी म्यानुअल टिकट वितरण गरी आर्थिक ऐन, २०८१, चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ र सो को नियमावली चलचित्र नियमावली, २०५७ मा रहेको प्रावधानविपरीत गतिविधि सञ्चालन गरिरहेको बोर्डले जनाएको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन, महेश दवाडीको संवाद रहेको यो सिनेमाले बक्स अफिसमा ३० करोडभन्दा माथिको ग्रस कलेक्सन गरिसकेको छ । सिनेमाले बक्स अफिसमा आक्रामक व्यापारलाई जारी राखेको छ। तेस्रो सातामा पनि सिनेमा हेर्ने दर्शकको चाप घटेको छैन । सिनेमाले अझै पनि ३५० भन्दा बढी सोज पाइरहेको छ ।