ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ
नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । प्रसाईंलाई साइबर क्राइममा अनुसन्धान गर्न मंगलबार भक्तपुरबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए ।
त्यसअघि उनलाई वीर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । उनीमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीविरुद्ध सामाजिक सञ्जालबाट भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका जिकिर गरिएको छ । प्रधानमन्त्री अध्यक्ष रहेको पार्टी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली कागजात बनाएर भ्रम सिर्जना खोजिएको बताएका छन् ।
‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र हो,’ सामाजिक सञ्जाल एक्समा पोखरेलले लेखेका छन्, ‘कुनै पनि समाजका लागि षड्यन्त्र र अराजकता त्यस समाजको भविष्यलाई बर्बाद बनाउने विषवृक्ष हो । यस प्रकारको षड्यन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।’प्रसाइले कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्दै भ्रामक सूचना प्रचार गरेको सिआइबीले दावी गरेको छ ।