पूर्वसभामुख दमननाथ ढुंगाना रहेनन

नेपाल दर्पण, काठमाडौं ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ढुंगाना २०४८ सालको आम निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित सांसद हुन् । त्यसपछि उनी सभामुख भएका थिए । उनी २०७४ सालमा भक्तपुरबाट कांग्रेस उमेदवार थिए । कलेजो सम्बन्धी समस्याबाट गुज्रिएका ढुंगानाले भारतमा पनि उपचार गराइरहेका थिए । अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार उनलाई घरबाट अस्पताल ल्याइपु¥याउँदा उनको निधन भइसकेको थियो । उनी ८३ वर्षका थिए ।

ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । गणतन्त्र स्थापनाका लागि भएको २०६२÷०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि थिए । नागरिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणका लागि निरन्तर लड्दै आएका ढुंगाना लामो समय सक्रिय राजनीतिमा नरहेपनि उनको विचार र उपस्थिति भने भइरहेको थियो । राज्य सत्ताको विपक्षीमा र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए । यस हिसाब उनी सत्तालाई खबरदारी गरिरहने प्रतिपक्षी नेता जस्ता थिए ।

०४८ देखि ०५१सम्म उनी सभामुख भएर काम गरे । ०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् । पछिल्लोपटक ०७४ मा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट पनि सफल हुन नसकेपछि उनी सक्रिय राजनीतिमा आउन छाडेका थिए । माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा ढुंगानाले धेरैपटक सहजकर्ताको भूमिका समेत खेलेका थिए । सभामुख भएको समय बाहेक उनले राज्यसत्ताको सुविधा समेत लिएनन् । उनी भन्ने गर्थे,‘लोकतन्त्रका लागि जति मैले काम गरें, त्यति काम पार्टीका लागि गर्न सकेको छैन ।’ ढुंगानाले २०२८ सालदेखि वकालत पेशामा लागेका हुन् । ०४६ साल सम्म सक्रिय वकालतमा थिए । बहुदलीय व्यवस्थपछि पार्टी राजनीतिमा सक्रिय भए । वकालतमा आउनु अघि ढुंगाना केही समय शिक्षक समेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *