नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हेर्न पाइने

नेपाल दर्पण, काठमाडौं ।

खेलकुदसम्बन्धी चर्चित अन्तरराष्ट्रिय च्यानल स्टार स्पोर्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत एनपिएलको प्रशारण साझेदार स्टार स्पोर्ट्सँग रहने घोषणा गरेको हो । क्यानका सचिव पारस खड्काले एनपिएलको ब्रान्ड भ्यालु बढाउन स्टार स्पोर्ट्सजस्ता अन्तरराष्ट्रिय च्यानल आवश्यक रहेको र सोहीअनुरूप स्टार स्पोर्ट्ससँग सहकार्य गरेको बताए ।

एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुने भएको छ । क्यानले आफैं आयोजना गर्न लागेको यस फ्रेन्चाइज प्रतियोगितामा ८ वटा टोली सहभागी हुनेछन् । नेपाल प्रिमियर लिगमा वाग्मती प्रदेशबाट २ र अन्य प्रदेशबाट १÷१ टिम बनेका छन् । पहिलो संस्करण खेल्ने टोलीहरूमा काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । यी टोलीमा शिखर धवन, रोहन मुस्तफा, बेन कटिङ, माइकल लेभिट, सैफ जाइब, ब्रान्डन म्याकमुलेन, उन्मुक्त चन्दलगायतका चर्चित विदेशी खेलाडीसमेत छन् ।

सो अवसरमा क्यान सचिव खड्काले २ दिनभित्र एनपिएलको खेलतालिका सार्वजनिक गरिने र मंसिर १६ गते कीर्तिपुरमा नै उपनिर्वाचन हुने भएकाले त्यस दिन खेल सञ्चालन नहुने स्पष्ट पारे । क्यानले एनपिएलको टाइटल स्पन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *