डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल, ग्यास र हवाई इन्धनको यथावत
नेपाल दर्पण, काठमाडौं ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ । बढेर आएको मूल्य आज राति १२ बजेपछि लागू हुने जनाइएको छ ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर ०.३२ रुपैयाँ र डिजेल २.५४ रुपैयाँ बढेर आएको छ । निगम सञ्चालक समितिले भने डिजेल र मट्टितेलको मूल्य मात्रै बढाएको हो । निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ ।
अब काठमाडौं र पोखरामा मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।