२० महिनापछि देउवा प्रधानमन्त्री, नेपालमा अस्थिरता छैन, रवि दोषीः ओली

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष आठ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन् । उनले देशमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्तासमीकरण बनाउन अबको २० महिनापछि कांग्रेस सभापति शेर बहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन । उनले नेपाली कांग्रेस र नेकपा ९एमाले०बीच सहकार्य भएअनुसार सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याङ्कन हुने बताए । समीक्षाका क्रममा लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र सङ्घीयताका मूल मर्ममा तलमाथि नहुने पनि उनले स्पष्ट पार्दै नेपालमा अस्थिरता नरहेको दाबी गरेका छन् । भारतको उदाहरण दिँदै ओलीले भने, “यहाँ तीनजना प्रधानमन्त्री भएका बेला भारतमा एकैजना प्रधानमन्त्री भइराख्नुभएको छ । एकैजना प्रधानमन्त्री भइराख्नुभएको विषयमा त टाउको दुखाइ छैन । यहाँ त गतिशील रहेछ नि । डेमोक्रेसी त गतिशील रहेछ ।”

उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने पनि बताए । “हामी डेमोक्रेसी तलमाथि हुन दिँदैनौँ । नेपाली जनताले संघर्ष गरेर नागरिक सर्वोच्चताको प्रणाली स्थापना गरेका हुन्,” उनले भने ।
प्रधानमन्त्री ओलीले विगतको तुलनामा अहिले विकास भएको पनि जिकिर गरे । ०७२ सालमा संविधान जारी भइसकेपछि नेपालले द्रुत गतिमा विकास गरिरहेको उनको दाबी छ । उनले नेपाल समावेशीताको सवालमा विश्वमै उत्कृष्ट रहेको बताए । तर, पूर्वाधार विकासको सवालमा पछाडि रहेको उनको स्वीकारोक्ति छ । त्यसक्रममा ओलीले विभिन्न विषयमा बोलेका थिए । उनले नेपालको अर्थतन्त्र, विकास, चीन भ्रमण, डेडिकेटेड र ट्रंकलाइनसहित विभिन्न विषयमा बोलेका थिए ।

यसैगरी हिरासतमा लिइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा दोषी र निर्दोष छुट्याउने काम अदालतको भएको ओलीले बताए । संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेको पनि उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगरेको दावी गरे। उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ ।’ लोकतन्त्रका लागि लामो संघर्ष गरेका आफूहरूमाथि गाली गर्नु अनुचित भएको उनले दावी गरे । ‘हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौं । नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन । न्यायालयको कामलाई दबाव र झूटको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *