९ घण्टा लिदा पनि सकिएन लामिछानेको बयान, भैरहवामा रास्वापाको प्रर्दशन

नेपाल दर्पण, भैरहवा ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने कार्य आज पनि सकिएन । आज विहान १० बजेदेखि राति ७ बजेसम्मै ९ घण्टा बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा दुई दिनदेखि जारी बयान लिने कार्य नसकिएपछि बिहीवार पुनः बयान लिइने भएको छ । रुपन्देही प्रहरीकी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले आज साँझ ७ बजेसम्म बयानलिँदा समेत नसकिएकाले बिहीवार पनि बयान लिने बताइन । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतबाट रुपन्देही ल्याएर बयान लिइएको हो ।

लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले बुधबार रूपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरिहेका बेला कडा सुरक्षाबीच सरकारी वकील कार्यालयमा लगेर बयान लिएको हो । पोखराबाट मंगलवार भैरहवा लगिएका लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालय पु¥याइएको थियो । रूपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडियामा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो ।

सूर्यदर्शनको झैँ सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध–निर्देशक रहेको गोर्खा मिडियामा लगेर अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन । सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन् ।

यता रबिको बयान चलिरहदा उता प्रदर्शनकारीहरूले ‘न्याय मार्न पाइँदैन, अन्याय गर्न पाइँदैन’सहितका नारा लगाएका थिए । सभापति लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा नियन्त्रणमा लिएर दुःख दिने काम गरेको उनीहरूको भनाइ छ । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार पोखराबाट भैरहवा पु¥याइएको थियो । प्रदर्शनकारीले जिल्ला सरकारी वकिल कार्यालय नजिक प्रदर्शन गर्न खोजे पनि प्रहरीले रोकेको थियो । त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । भैरहवापछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि काठमाडौँमा पनि बयान लिने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *