पुजाले हानिन १३० रन, कुवेत चारै खाना चित

नेपाल दर्पण, काठमाडौं ।

बलिङ र ब्याटिङ दुवैतर्फ कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली यू–१९ महिला क्रिकेट टिमले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६५ रनको फराकिलो जित निकालेको छ । मंगलबार यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रनमात्रै बनाउन सक्यो ।

नेपालले दिएको २ सय १४ रनको चुनौती पछ्याएको कुवेत १३ ओभरमा १० विकेट गुमाउँदै ४८ रनमा समेटियो । कुवेतकी जिफा जिलानीले सर्वाधिक ३६ रन जोडिन् । सात खेलाडी शून्यमा आउट भए । नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ५ विकेट लिइन् । सीमा केसी र रचना चौधरीले समान २÷२ विकेट लिए । यूएईस्थित सेभेन्स डिस्ट्रिक स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले शतकीय पारी खेल्दै १ सय ३० रनमा अविजित रहिन् ।

६९ बल खेलेकी उनले १७ वटा चौका हिर्काएकी थिइन् । सोनी पाख्रिनले आउट नभइ ४३ रन जोडिन् । यसअघि सावित्री धामी ११ र साना प्रविन ६ रनमा आउट भएका थिए । पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो। यसअघि आइतबार भएको खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् ।

सहभागी चार टोलीमध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ । जारी प्रतियोगितामा कुनै पनि टिमका खेलाडीले बनाएको यो पहिलो शतक हो । पूजा नेपाली युवा महिला टिमबाट शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *