‘खोरमा थुनिँदैमा बाघ स्याल हुदैन’ भन्दै गर्जिए रवि लामिछाने
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ बताएका छन् । मंगलबार सरकारी वकिलको कार्यालयमा रूपन्देहीमा बयान दिइसकेपछि बाहिरिने क्रममा रविले समर्थकहरूलाई हेरेर लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ भन्दै गर्जिएका हुन । समर्थकलाई हात हल्लाउँदै उनले भने ‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन ।’
पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई रूपन्देही लगिएको हो । सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि उनलाई आजै पोखराबाट भैरहवा लगिएको हो । उनी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा थिए ।
आज उनीसँग करिब ५ घण्टा बयान लिइएको थियो तर नसकिएकाले बुधवार पनि बयान लिइनेछ । कात्तिक २ गते पक्राउ परेका रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । कास्की प्रहरीको हिरासतमा रहेका रविलाई मंगलबार बिहान विमानमार्फत रूपन्देही लगेको हो ।