स्याङजाको मालुंगामा भइरहेको दामोदर महायज्ञमा सहभागि हुन दुबईदेखि उडे कथावाचक बालब्यास श्रवण न्यौपाने

नेपाल दर्पण, मुम्बई ।

विद्यादान, अन्नदान र जीवनदानका लागि ११ करोड अक्षयकोष स्थापनाका लागि स्याङजा जिल्लाको मालुङगामा चलिरहेको विराट महायज्ञमा सहभागि हुनका लागि चर्चित कथावाचक बालब्यास श्रवण न्यौपाने दुबईदेखि नेपालका लागि उडेका छन । स्याङ्जा पाल्पा सीमानामा स्थित कालीगण्डकी उत्तरवाहिनी क्षेत्रमा सञ्चालित श्रीकालीगण्डकी गुरुकुलमा यही कार्तिक ९ देखि ३० सम्म मातापितापूजन एवं गण्डकी शालिग्राम दामोदर महामहोत्सव चलिरहेको छ यसै महायज्ञमा सहभागि हुन न्यौपाने नेपाल आउन लागेका हुन ।

स्याङ्जा र पाल्पा जिल्लाको बीचोबीच एउटा नदी छ जसलाई आम नेपाली आमाको दर्जा दिन्छन् नाम हो कालीगण्डकी । अर्थात् शालिग्राम शिला पाइने संसारकै एक मात्र नदी । संसारका सबैजसो नदीहरू उत्तरबाट दक्षिणतिर बग्छन् । तर ,जहाँ नदीहरू दक्षिणबाट उत्तरतिर बग्छन् ती ठाउँहरूको विशेष महिमा हुन्छ । पाल्पापट्टि असेर्दी र स्याङ्जापट्टि मालुङ्गा , यी दुई ठाउँ उत्तरवाहिनी कालीगण्डकीको पवित्रताको साक्षी बन्ने अवसर पाएका छन् । यही उत्तरवाहिनी गण्डकीको तटमा कार्तिक महिनाभरि विराट् महायज्ञ चलिरहेको छ । कार्तिक महिनालाई मालुङ्गाका मान्छेहरू दामोदरमासका रूपमा उत्सवपूर्वक मनाउँछन् । बिहानै प्रतिदिन गण्डकीस्नान गर्छन् , साँझ गण्डकीको आरति गर्छन् र गाउँलेहरू मिलेर बेलुकी भजनकीर्तन गर्छन् । यो शिलसिला वर्षौदेखि चल्दै आएको छ ।

स्याङ्जा जिल्ला हुँदै बग्ने एउटा खोला छ, आँधीखोला । पुराणमा वर्णित अनुसार श्रवणकुमार र उनका अन्धा पिता अन्धी आमाको आँसुको परिणामस्वरूप बगेको खोलाका रूपमा यहाँका व्यक्तिहरू यसलाई लिन्छन् । श्रवणकुमारजस्ता मातापिताका भक्तहरूको भूमि स्याङ्जाबाट संसारलाई मातापिताको भक्ति सिकाउने विशाल अभियानका साथ यतिबेला स्याङ्जा जुर्मुराएको छ । यस कार्यक्रममा स्वयं सन्तान नै आमाबुबाका साथमा उपस्थित हुन्छन् र मातापिताको पूजन गर्छन् । देश विदेशका सन्त एवं विद्वानहरूको प्रवचन भइरहेको छ भने नियमित रूपमा योग एवं संस्कृत शास्त्रका अभ्यासको शिविर पनि सञ्चालन भइरहेको छ ।

कालिगण्डकीको तटमा एउटा संस्कृत गुरुकुल छ, जहाँ सयौं विद्यार्थीहरू आवासीय सुविधासहित निःशुल्क अध्ययन गरिरहेका छन् । भक्तहरूको दान–सहयोगकै सहारामा चलिरहेको यो गुरुकुल स्थायी र मजबुत आर्थिक स्थितिको पर्खाइमा छ । यस यज्ञबाट सङ्कलित द्रव्यदक्षिणा यसै गुरुकुलको सञ्चालनमा उपयोग गरिने कुरा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण महाराजको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *