रविलाई आज चौथोपटक अदालतमा पेश गरिने, रास्वपाद्धारा आन्दोलनको तयारी
नेपाल दर्पण, पोखरा ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चौथोपटक अदालतमा पेश गरिने भएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ । प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउन लागिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।
आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले १० बजे जिरोमा समर्थकहरू डाकेको छ । त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी छ । यसअघि वाइचोकमा पटकपटक प्रहरीसँग झडप भएको थियो । रास्वपाले रवि लामिछानेलाई अदालत पेस गर्दा सँधै प्रदर्शन गर्ने गरेको छ । रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनको घोषणा समेत गरेको छ । रविलाई अदालत उपस्थित गराइँदा रास्वपाका नेता कार्यकर्ताले पोखराको जिरो किलोमिटर घण्टी घरमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
रास्वपाले भने पार्टीकोे बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन सुनियोजित षड्यन्त्र गरेको आरोप लगाएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न पक्राउ गरेको निष्कर्ष निकालेको छ । संसदीय छानबिन समितिको प्रतिवेदनमा सहकारी प्रकरणमा संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको उल्लेख भए पनि सोही अभियोगमा पक्राउ गरिएको उसको भनाइ छ । पक्राउको वास्तविक उद्देश्य रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न खोजेको उसको आरोप छ । रविपक्षीय वकिलले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन् ।