गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरु, स्थानीय र विमानस्थलमा रौनक
नेपाल दर्पण, बुटवल ।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले शुक्रबार र शनिबारबाट अन्तर्राष्ट्रिय उडान गर्दै छन । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेको छ । गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यति धेरै संख्यामा उडान हुन लागेको छ । यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडान बढ्नेछन् र यात्रुको आकर्षण पनि बढ्नेछ’, उनले भने । नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको संख्या चार पुगेको छ । साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान शुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिटै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।
उडान तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ । यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ । यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ । यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिए । भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौँ भएर दुबई फर्किने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुबई उडान गर्न लागेको हो ।
दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ । अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेकाले सोही बमोजिम आवश्यक प्राविधिक जनशक्तिदेखि सबै तयारी गरिएको छ । प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । प्राविधिक पक्ष व्यवस्थापन गरिएको छ । विमानस्थलमा २१ यात्रुसेवा काउन्टर छन्। उपकरण जडान भई ‘अटोमेसन’को काम भएको छ ।