आज छठ पर्वको मुख्य दिन, यस पर्वले देशभर सामाजिक सद्भाव र एकता कायम
नेपाल दर्पण, काठमाडौं ।
सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। बिहीबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ । मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागेका हुन् ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको बताइन्छ । रुसूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ । मुख्य दिन शुक्ल षष्ठी भए पनि छठ चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी, बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन आज साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु पनि छठ पूजास्थल जाने कार्यक्रम छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् । पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ । छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।