दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
नेपाल दर्पण, काठमाडौं ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठह¥याएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो ।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो। उनी मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका थिए ।
उच्चले मनाङेलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो। फैसलाअनुसार अब मनाङेले ३ वर्ष कारागारमा बस्नुपर्नेछ । यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उनी २ वर्ष कारागार बसिसकेका छन । सर्वोच्चको फैसलापछि गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले आफूले यसबारे कानूनविद्सँग परामर्श गर्ने प्रतिक्रिया दिए । उनले भने “यो अदालतको फैसलाको कुरा हो, कानूनले जे भन्छ, त्यही हुन्छ । कानूनबमोजिम के हुन्छ भन्ने कानूनविद्सँग सल्लाह, परामर्श गर्छु ।” संविधानको धारा १७८ मा प्रदेशसभा सदस्य बन्न नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने प्रावधान छ ।