रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी
नेपाल दर्पण, काठमाडौं ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप अनुसन्धानको लागि रुपन्देही लाने तयारी गरिएको छ । रवि २ कार्तिकदेखि कास्की प्रहरीको हिरासतमा छन् । पोखरामा सहकारी ठगी सम्बन्धमा अनुसन्धान सकिएको जनाइएको छ । यद्यपि मंगलबार नै पठाउने वा छठसम्मका लागि म्याद थपेर पोखरामै अनुसन्धान गर्ने भन्नेमा भने प्रहरी निष्कर्षमा पुगेको छैन । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् ।
रुपन्देही जिल्ला अदालतले गत कात्तिक ८ गते नै बुटवलस्थित सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कका लगेर खर्च गरेको कसुरमा लामिछानेलाई हिरासतमा लिएर अनुसन्धान गर्न अनुमति दिइसकेको छ । सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन । उनको भने यसअघि नै बुटवल लगनेर बयान लिएर कास्की नै फर्काइएको छ । कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रुपन्देही पठाइदिन रुपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरिसकेको छ ।