सय दिनमा ओली सरकारले राम्रो काम गरेको देउवाको भनाइ

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माको ओली नेतृत्वको सरकारले सय दिनमा निकै राम्रो काम गरेको भनेर तारिफ गरेका छन । कांग्रेस भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको उल्लेख गरे ।

सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए । एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राखे । अहिलेको सरकारलाई पूरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।

देउवाले कुनै पनि क्षेत्र समस्याविहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरू समाधान गर्न लाग्नुपर्ने जिकिर गरे । प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो । अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छन्, त्यसलाई खराब मान्ने कुरा छैन’, सभापति देउवाले भने, ‘आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ । यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछु, उत्साहित गराउनेछु ।’

सभापति देउवाले अहिले संयुक्त सरकार बनेको र यो सरकारप्रति देशभरका पार्टी कार्यकर्ताहरु सन्तुष्ट रहेको आफूले पाएको पनि बताए । ‘मैले बुझेअनुसार देशभरकै पार्टीका साथीहरु अहिले खुसी छन’, उनले भने, ‘उहाँहरुको चाहना पनि यो सरकारलाई पूरा समयसम्मका लागि सफल पार्नका लागि सबै साथीभाइले मलाई पनि भनिराख्याछन् ।’ गठबन्धनमा कुनै समस्या आए कांग्रेस त्यसको समाधानका लागि तयार रहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *