रवि लामिछानेलाई रुपन्देहीमा उपस्थित गराउन पत्राचार

नेपाल दर्पण, काठमाडौं ।

पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताएका छन । उनले भने, ‘कास्कीमा पत्र पठाएका छौं, पर्व बिदा सकिएपछि ल्याएर अनुसन्धान अघि बढाउँछौं ।’

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ । बुटवल उप महानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएका हुन् । २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार सो रकम गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।

२०८१ वैशाखमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा लामिछानेको बारेमा यस्तो उल्लेख छ ः रवि लामिछाने, गोरखा मिडीया नेटवर्क प्रालि ः २ करोड । उक्त रकम श्री रवि लामिछानेको नाम र ऋण खडा गरी २०७७ चैत १८ मा श्री गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा सेवा शुल्क बापत ४ लाख कट्टी गरी संस्थाले १ करोड ९६ लाख जम्मा गरेको देखिन्छ । लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सागर केसीले सदर गरेका हुन् । । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । सूर्यदर्शनको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् । कार्तिक १४ मा बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) वसन्त शर्माले बयान प्रमाणित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *