बालुवाटार क्षेत्रमा रास्वपाको प्रदर्शन, १७ नेता–कार्यकर्ता पक्राउ
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको छ । यस क्रममा (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन ।
उनका अनुसार बालुवाटारस्थित नेपाल हाउसको अगाडिबाट सांसद अशोककुमार चौधरीसमेत केही नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । त्यस्तै पक्राउ पर्नेहरूमा काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठसहित १७ जना छन् । शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले धरपकड गरेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए ।
प्रहरीले नियन्त्रणमा लिएकाहरूमा रास्वपाका सांसद अशोककुमार चौधरी, उक्त पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्रकुमार श्रेष्ठलगायत नेता–कार्यकर्ता रहेका बुर्लाकोटीले बताए । “शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दछौँ,” उनले भनेका छन् ।
पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपा आन्दोलित भएको हो । रास्वपाले भने यसलाई राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन भनेको छ । लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।