धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न गगन थापाको जोड
नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही हुनुपर्ने बताएका छन । सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न उनले सरकारलाई सुझाव दिएका छन । सोमबार काठमाडौंमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा उनले जनतालाई सरकार भएको महसुस हुनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीँबाट अनुरोध गर्छु, बकाइदा अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नु पनि पर्छ ।’ उनले सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गराउन सरकारले काम अघि बढाउनुपर्ने बताए ।
सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर भए पनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उनले धारणा व्यक्त गरे । महामन्त्री थापाले सहकारीको बचत अपचलन प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्नुपर्ने उल्लेख गरे । उनले संसदीय छानबिन समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । जुनसुकै दलका नेता भए पनि अनुसन्धानमा गल्ती देखिए कारबाही गर्न सरकार पछि हट्न नहुने उनले बताए ।