एमालेले दान स्वरुप लिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको आदेश
नेपाल दर्पण, काठमाडौं ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले व्यवसायी मीनबहादुर गुरूङले नेकपा (एमाले)लाई दान दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । इजलासमा सोमवार सुनुवाइ हुँदा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश भएको हो। अधिवक्ता ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले उक्त रिट दिएका थिए । इजलासले यो विवादमा रिट निवेदक ज्ञान बस्नेतसमेत, विपक्षी नेकपा एमाले र व्यवसायी मीनबहादुर गुरुङलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।
सर्वोच्च अदालतले कानूनले तोकेभन्दा ठूलो परिमाणमा दान लिँदा सत्तारुढ दलबाट त्यसको प्रतिफलमा कुनै काम हुनसक्ने औंल्याउदै तत्कालका लागि जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले जग्गाको हक हस्तान्तरण लगायतका काम रोक्नुपर्ने हो कि होइन भन्ने छलफल गर्न २६ कात्तिकका दिन दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
विवादास्पद र अनुसन्धानको दायरामा परेका गुरूङसँग एमालेले जग्गा लिएको भन्दै सोही पार्टीका केही नेतासहितले विरोध गरिरहेका छन । एमालेले सहयोग लिन कुनै बाधा नपर्ने दावी गर्दै आएको छ । यसअघि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरूङले भवन शिलान्यास गरिसकेका छन् ।