रविलाई मात्र पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज होः प्रचण्ड

नेपाल दर्पण, काठमाडौं ।

रास्वपापछि अहिले नेकपा (माओवादी केन्द्र)पनि सरकार विरुद्ध सडकमा उत्रिएको छ । माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारीसभामा उनले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन आग्रह गरे । वर्तमान सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टीपंक्तिलाई समेत ढाँटेर रातको १२ बजे बनेको उनले उल्लेख गरे । सय दिन पुग्दा नपुग्दै आफूहरूले गरेको आशंका सरकार आफैँले पुष्टि गरेको उनको भनाइ थियो ।

माओवादीलाई सरकारको चिन्ता नभएको उनले उल्लेख गरे । आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको उनले बताए । भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादीप्रति पनि आशंका उब्जेका बेला सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिइएको उनले टिप्पणी गरे । यो देश नेपाली कांग्रेस र नेकपा (एमाले)को बिर्ता नभएको उनले बताए । संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने नसोच्न समेत उनले चेतावनी दिए ।

उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकामा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्र पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए । ‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस’, उनले भने । अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।’ आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको प्रचण्डले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *