सहकारी ठगलाई राज्यले कुनै पनि हालतमा छाडदैनः ओली
नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगलाई राज्यले कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका छन् । सरकारको नेतृत्व गरेको एकसय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै ओलीले सहकारी ठगलाई कारबाही गरेर बचतकर्ताको रकम फिर्ता गराएरै छाड्ने बताएका हुन् ।
ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् ।
बुधबार सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गर्ने प्रतिबद्धता कार्यान्वयन सन्तोषजनक रहेको बताएका हुन् । ‘आज यहाँ उभिएर म यो भन्ने ठाउँमा आइपुगेको छु, सर्वसाधारणले जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ, र ल्याउँदैछ’, प्रधानमन्त्रीले भने ।
सहकारी बचत ठगी गर्नेहरुको संख्या बढिरहेको पनि प्रधानमन्त्रीले बताए । ‘सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारबाही अगाडि बढेको छ, हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन’, प्रधानमन्त्रीले भने ।
“सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ,” ओलीले भने, “६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा छन् ।” त्यस्तै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे । ‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ’, उनले भने । ठगहरुलाई कारबाहीसँगै पीडितहरुको बचत रकम फिर्ता गराउने प्रक्रिया पनि अगाडि बढेको बताए ।
‘सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्चा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अगाडि बढाइनेछ’, ओलीले भने ।