रास्वापको प्रर्दशनले आत्तियो प्रशासन,शान्ति सुव्यवस्था राख्न अपिल

नेपाल दर्पण, पोखरा ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि भनेर पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पु¥याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आजमात्र अदालत पेस गरिने भएको हो ।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ । यसैबिच कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचनाच जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ । यसअघि मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गरे । लोकतान्त्रिक अभ्यास गर्न पाइए पनि आफूले गर्दा अरुलाई असर नपरोस् भन्नेतर्फ ख्याल गर्न अनुरोध गर्दै उनले भने, ‘विरोध र समर्थनमा गर्ने कार्यक्रमहरु शान्तिपूर्ण हुनुपर्छ, लोकतन्त्रको अभ्यास गर्न पाइयो तर आफूले गर्दा अरुलाई डिस्टर्ब हुने, शान्ति सुरक्षा भंग हुने खालको गतिविधि गर्नु भएन, उच्छृखल गतिविधि गर्नु भएन ।’ शान्ति सुव्यवस्थामा खलल पुग्ने खालका गतिविधि नगर्न उनले दुवै पक्षलाई अनुरोध गरे । साथै विषय अदालतमा प्रवेश गरिसकेकाले अदालतको निर्णयलाई मान्नुपर्ने उनले बताए ।

पोखराको सूयर्दशन सहकारी संस्थाको रकम अपचलनमा मुछिएका रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी रातारात पोखरा पु¥याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *