रास्वपा समर्थकमाथि अश्रुग्यास प्रहार, जनतालाई सडकमा ओर्लिन रविको आग्रह
नेपाल दर्पण, पोखरा ।
सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले फोहोरा र अश्रुग्यास प्रहार गरेको हस्तक्षेप गरेको छ । नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो । पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । यद्यपि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छोड्न मानेका छैनन् ।
यता सभापति रवि लामिछानेले यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल गरेका छन् । पक्राउपछि म्याद थपका लागि अदालत पु¥याएका बेला लामिछानेले यस्तो अपिल गरेका हुन् ।उनले भने, “केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ । अन्यायवादी सरकारका विरुद्ध देशैभरबाट सडकमा निस्कनुपर्छ । झुटा मुद्दामा फसाउने योजना छ । यो सरकार नढलेसम्म यस्तै हर्कत गरिरहन्छ । सबैले सडकबाटै दबाब दिन जरुरी भइसकेको छ ।”
लामिछानेले केपी ओली यो देशको प्रधानमन्त्री हुनु देशको दुर्भाग्य रहेको बताएका छन् । यो देशमा भ्रष्टाचारको जगमा ओली उभिएको उनको भनाइ छ । जिल्ला अदालत जाने क्रममा पत्रकारसँग बोल्दै उनले न्यायको पक्षमा सारा जनता सडकमा ओर्लिन पनि आव्हान गरेका छन् । सहकारी ठगीको मुद्धामा उनी यतिबेला कास्की प्रहरीको हिरासतमा रहेका छन् ।