सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ, ओली–देउवा विरुद्ध नाराबाजी
नेपाल दर्पण, काठमाडौं ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन । उनलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही घण्टामै प्रहरीको सिआइबी टोली उनलाई पक्रन कार्यालयमै पुगेको थियो ।
उनलाई आजै पोखरा लैजाने तयारी गरिएको छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । उक्त रकम लामिछानेले परिचालन गरेको पाइएको छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । सोही आधारमा कारबाही सिफारिससमेत गरिएको थियो ।
रवि लामिछाने पक्राउ पर्दा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापतिविरुद्ध चर्को नाराबाजी लागेको छ । पार्टी कार्यालयबाट लामिछाने निस्किने वित्तीकै नाराबाजी सुरु भएको थियो । लामिछानेले केही मिनेट सम्बोधन गरेपछि भने थप नाराबाजी चर्किएको थियो । उनका समर्थकले प्रधानमन्त्री ओली र सभापति देउवाविरुद्ध र लामिछानेका पक्षमा नाराबाजी लगाएका थिए । लामिछानेले सम्बोधन गरेलगत्तै उनलाई सिआइबीको टोलीले पक्राउ गरेको हो ।
आफ्नो सम्बोधनको क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दावी गरेका छन् ।
उनलाई पक्राउ गर्ने क्रममा आफ्नै पार्टी कार्यालयमा संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले अहिलेको सरकार बनाउने निर्णय भएकै दिन आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको बताए । उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’ उनले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप पनि लगाएका छन् । राज्यको दादागिरीको डटेर सामना गर्ने पनि उनले बताए ।