रविलाई पक्राउ गर्न रास्वपाको मुख्यालय पुग्यो प्रहरी, जोशी अझै हिरासतमै रहने
नेपाल दर्पण, काठमाडौं ।
सहकारी ठगी प्रकरणमा पक्राउ गर्न अदालतको अनुमति पाएपछि सिआईबीको टोली रवि लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय घण्टीघर पुगेको छ । सिआईबीका एसपी होविन्द्र बोगटी यतिवेला अदालतको पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय वनस्थली पुगेका हुन् । उनलाई आजै पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ । अहिले रास्वपाको केन्द्रीय कार्यालयमा ठूलो संख्यामा सञ्चारकर्मी र रास्वपाका समर्थकहरूको उपस्थिति छ ।
यसअघि, कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति मागेको हो । कास्की जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएको हो । सहकारी हिनामिना प्रकरणमा मुछिएका उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पुर्जी लिएको हो ।
यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् । जोशी अझै ५ दिन हिरासतमै रहने भएका छन् । शुक्रबार अदालतले उनलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । गत असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।