ओली सरकारमाथि रास्वपाको प्रहार

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमाथि प्रहार गरेको छ । रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ जस्तो भएको भनेर प्रहार गरेको हो । तीन महिना पूर्ण मूल्यांकनको आधार नभएको तर घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ यसबीचमा सरकारले प्रारम्भिक संकेतसम्म देखाउन नसकेको रास्वपाको भनाइ छ ।

रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न सो आह्वान गरेको छ । विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ । विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यक पर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको छ । मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको रास्वपाको दाबी छ । ‘संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुने गरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा थियो तर उक्त विषय अहिले ओझेलमा पारिएको छ । आज आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी–व्यवसायीमा निराशा बढेको छ । सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्धमा गत्यावरोध हुन थालेका छन् । आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाईको सरकार ‘कामचलाउ’ जस्तो देखिन्छ । सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरु समेत सत्ता पक्षीय बहुमतको बन्धक भएका छन’ विज्ञप्तिमा भनिएको छ ।

संवादहीनतामा लोकतन्त्र फस्टाउन नसक्ने भन्दै रास्वपाले शिथिल अर्थतन्त्र, कमजोर विपद व्यवस्थापन, उकुसमुकुसपूर्ण सामाजिक परिस्थिति र युवाहरुमाझ नैराश्य फैलिएको बेला नागरिक समाज र जनप्रतिनिधिहरु मौन बस्न नमिल्ने बताएको छ । ‘तसर्थ राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याहरुबारे तत्काल छलफल गर्न आवश्यक देखिएकोले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपील गर्दै सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँदछ’ रास्वपाले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *