प्रधानमन्त्री ओलीले दिए बहुमतको धाक, धक्कु र चेतावनी

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको धाक देखाएका छन । वर्तमान सरकार दुई तिहाइ को नजिक रहेको भन्दै धक्कु दिएका हुन । ६९ प्रहरी दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई खरानीको डल्लो नसोच्न चेतावनी दिएका हुने । उनले कांग्रेस–एमालेको इतिहास मुलुकलाई परिवर्तन गर्ने कुरामा रहेको बताए । ‘ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनेको छ । सरकार लगभग दुई तिहाई नजिकको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होईन् । एमाले र कांग्रेसको इतिहास यो देशलाई परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरुको सरकार हो,’– उनले भने ।

साथै, वर्तमान सरकार आगामी २०८४ निर्वाचनसम्म नै अगाडि बढ्ने उनको दाबी छ । उनले अब आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि बताए । उनले ०८४ अगाडि सरकार परिवर्तन हुने हल्ला पूरा नहुने बताए । ‘अहिले दिनै सरकार परिवर्तनको हल्ला सुनिन्छ । दसैंपछि तुरुन्त परिवर्तन हुन्छ रे । कुन दसैं भनेको हो ? ०८४ सालको दसैंपछिको चुनावमा ? ठीकै हो । त्यसभन्दा यता म १ वर्ष ९ महिना रहन्छु । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । मैले पहिला नै भनेको छु । आफैं फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । चुनाव उहाँको नेतृत्वमा हुन्छ,’– उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेस गठबन्धनको सरकार परिवर्तनको कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । सरकार परिवर्तनको विषयमा हल्ला चलेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ’विभिन्न प्रकारका कुनाकाच्पाबाट पनि आवाज आउने गरेका छन् । म स्पष्ट भन्न चाहन्छु–अहिलेको संविधान जनतामा सार्वभौमसत्ता रहेको, जनता शक्तिको स्रोत भएको संविधान र संविधानले निर्दिष्ट गरेको अहिलेको प्रणाली यसको रक्षा गर्दै अघि बढ्नुपर्दछ । धेरै कुरामा कम्प्रोमाइज (सम्झौता) हुन सक्दछ । तर प्रणालीको कुरामा हुन सक्दैन । लोकतन्त्रको कुरामा कम्प्रोमाइज हुन सक्दैन,’ ओलीले भने, ‘लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ । चुनाव गरौँ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने जनताले अर्को सरकार गठन गर्न पाउँछन्, चुनावका माध्यामबाट ।’

२०८४ सालमा निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने र त्यसपछि जसले जितेर आउँछ त्यसले सरकार गठन गर्ने पनि ओलीले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *