२ महिना (साउन–भदौ) मा मात्रै भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स

नेपाल दर्पण, काठमाडौं ।

चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो ।

राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढी हो । अमेरिकी डलरमा रेमिट्यान्स १ अर्ब ९६ करोड आएको छ । अघिल्लो वर्षको यसै महिनामा डलरमा रेमिट्यान्स १ अर्ब ७३ करोड थियो ।

यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा समेत वृद्धि भएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ००४ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष खुद ट्रान्सफर २ खर्ब ५१ अर्ब ६५ करोड थियो । चाडबाडका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल पठाउने गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *