पार्टी कार्यालय बनाउन जग्गा व्यापारीबाट लिएको भन्दै एमालेभित्र विरोध

नेपाल दर्पण, काठमाडौं ।

कीर्तिपुरमा पार्टी कार्यालय बनाउने जग्गा व्यापारीबाट सहयोग लिएको भन्दै सत्तारुढ दल नेकपा एमालेभित्र विरोध शुरु भएको छ । नेकपा (एमाले) की प्रभावशाली नेतृ विन्दा पाण्डेले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिने कुराको विरोध गरेकी छिन् । उनले समय घर्किनसकेको भन्दै अझैपनि उक्त निर्णय फिर्ता लिन पार्टी नेतृत्वलाई दबाब दिएकी छिन् ।

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको १४ रोपनीभन्दा बढी जग्गामा पार्टी कार्यालय बनाउन गत शुक्रवार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । त्यसको ३ दिनपछि नेतृ बिन्दा पाण्डेले सामाजिक सञ्जालमार्फत राजनीतिक दलले कार्यालय बनाउन अमुक व्यापारीको सहयोग लिनु गलत भएको बताएकी हुन् । यसले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उनको ठम्याइ छ ।

देशभरका कार्यकर्ताबाट सहयोग उठाएर भवन निर्माण गर्ने चर्चा चलाए पनि व्यवसायी गुरुङले नै निर्माण गरिदिने एमालेका केही नेताहरुले नै बताएका छन् । पार्टीको निर्णायक तहमा छलफल र निर्णयबिनै पार्टी कार्यालय बनाउन व्यापारीको सहयोग लिने पार्टी नेतृत्वको निर्णय दीर्घकालमा आत्मघाती सावित हुने भन्दै पाण्डेले सच्याउन माग गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *