भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी
नेपाल दर्पण, काठमाडौं ।
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।
सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए ।
सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुगेका थिए । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पु¥याएको क्षतिबारे छलफल भएको थियो । मन्त्रीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए ।
सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिए । उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए । सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पुर्याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ ।
48 Total views