बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

नेपाल दर्पण, काठमाडौं ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ । सरकारले बाढी, पहिरोबाट प्रभावित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले काभ्रे, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका बाढीपहिरोबाट बढी प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनर्स्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिनेगरी स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ । बैठकमा गएको असोज ११ र १२ गते परेको भारी वर्षा र त्यसले पु¥याएको क्षतिबारे समीक्षा गर्दै राजमार्गमा देखिएका समस्या समाधानका लागि छलफल भएको थियो । हालैको बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १६९ जना घाइते र १८ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सहसचिव अधिकारीले भने, ‘विशेष गरी अस्तिको १० गते पछिको ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो । हामी स्थानीय तहको पनि संख्या तोक्छौँ । अहिले मैले अघि भनेअनुसारको जिल्लामा ऐनको दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिनेछ ।’ गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठुलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरूको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन् । १७ हजार १२० जनाको उद्धार गरिएको पनि प्राधिकरणको पछिल्लो तथ्यांक रहेको पनि सहसचिव अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *