विपतमा परी २२६ को मृत्यु, २५ जना बेपत्ता, ओलीद्धारा पूर्वतयारी नरहेको स्वीकार

नेपाल दर्पण, काठमाडौं ।

केही दिनअघिको परेको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी अहिलेसम्म २२६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् । मंगलबार छ बजेसम्मको तथ्यांकअनुसार सुरक्षाकर्मीले १३ हजार ६१ जनाभन्दा बढीको उद्धार गरेका छन् । यस्तै प्राकृतिक विपदमा १५९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरूद्ध भएको हुँदा लामो यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै, अवरूद्ध सडक बाटो खुलाउने प्रयास भइरहेको जनाइएको छ । विपतको बेला सरकारको फितलो प्रस्तुती भएको भनेर जनआक्रोश बढेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने यति ठूलो विपदको पूर्वतयारी नरहेको स्वीकार गरेका छन् ।

असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपत्ति आइलागेको बताए । ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन’, उनले भने, ‘यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन ।’ भारी वर्षा हुनसक्छ भन्ने जल तथा मौसम विज्ञान विभागको सूचनाका आधारमा अरु बेलाजस्तै पूर्व तयारी गरेको उनले बताए । उनले भने, ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थे, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *