विपतमा परी देशभर २०९ जनाको मृत्यु, १४२ घाइते, २९ अझै बेपत्ता

नेपाल दर्पण, काठमाडौं ।

पछिल्लो समय परेको अविरल वर्षात्का कारण देशभर २०९ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेको बताएको हो । यस्तै, २९ जना बेपत्ता र १४२ जना घाइते भएका छन । खोज तथा उद्धार जारी रहेको र आजसम्म ७१३ जनाको हवाई उद्धार भएको जनाएको छ ।

अविरल वर्षात्का कारण देशभरका २० वटा राजमार्ग हाल पनि पूर्ण रुपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौं हेटौंडा जोड्ने सिस्नेरी सडकसहितका २० वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको हो । अझै पनि २० वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । धेरै स्थानमा एकैपटक राजमार्ग अवरुद्ध भएपछि स्रोतसाधन तथा जनशक्ति व्यस्थापन हुन नसक्दा सडक खुलाउन समय लागेको बताइएको छ ।

हाल सुनसरीको चतरा पुलदेखि बराह क्षेत्र मन्दिरसम्म जाने सडक पहिरोको कारण अवरुद्ध छ । मकवानपुर आँपचौरको कान्ती राजपथको सडक पनि अवरुद्ध छ । त्यस्तै, बीपी राजमार्ग–काभ्रेपलान्चोक भ्याकुरे खोला, चर्सया बेसी, अरनिको राजमार्ग–सिन्धुपाल्चोक कोदारी, ललितपुरको ग्वार्को, लुभु हुँदै पनौतीसम्म जाने सडक पनि अवरुद्ध छ । यसैगरी, पुष्पलाल मध्य पहाडी राजमार्ग–सिन्धुली अक्करे भीर, अरनिको राजमार्ग–सिन्धुपाल्चोक सिरेस, ललितपुरको एकान्तकुनादेखि हेटौँडासम्मको कान्ती राजपथमा पनि सवारी साधन सञ्चालनमा छैनन् ।

पुष्पलाल मध्य पहाडी राजमार्ग–सिन्धुलीको हर्जेनी, बलेनी, सालघारी भन्ने स्थानमा पहिरो हट्न सकेको छैन । बीपी राजमार्गको बर्दिबास–धुलिखेल खण्ड विभिन्न स्थानमा पहिरो झरेका कारण बन्द छ । पुष्पलाल मध्य पहाडी राजमार्गको सिन्धुलीमा कुखुरेटार, ल्याउ खोला, फिक्कल, रिठ्ठा बोटमा पहिरो छ । त्यस्तै, मेची राजमार्गको पाँचथर फिदिमछेउ अरनिको राजमार्ग–सिन्धुपाल्चोक लार्चा, पश्चिम रुकुमको भेरी करिडोर त्रिवेणी, धनकुटाको ओर्खे, धादिङको बुलटार, पाँचथरको माइदाने, सिन्धुपाल्चोकको लिपीङ पुल, सिन्धुलीको बोरुङ्गे सडक पनि पहिरोले अवरुद्ध छ ।

विभागका अनुसार रामेछापको सुनकोशी पुल, काभ्रेपलान्चोकको माम्ती खोला, काल ढुंगा, बोक्सी कुना, नार्के पुल आसपास, काभ्रे भन्ज्याङ, पिनथली बेसी, डाला बेसी, चौकी डाँडा, अवरुद्ध छन् । नवलपुरको तरङ्ग खोला, रामेछापको खैरेनी घाट, खानी खोला, गुल्मीको लत्रे भीर, उदयपुरको फोक्सिन्टार, मुस्ताङको राजकुद देविस्थान र बागलुङको कुचुरे भीरमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *