देश बाढीवर्षाले त्राहीमाम, रवि, बालेन र हर्कलाई लखेट्न मात्रै सरकारको ध्यान !
नेपाल दर्पण, काठमाडौं ।
१४ असोजमा फर्कने गरी अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहकको जिम्मेवारी दिए । तर ‘कार्यवाहक सरकार’ ले न संकटअघि पूर्वतयारी गर्न सक्योे, न संकटपछि उद्धार कार्यमा राम्रो भूमिका निभाउन सक्यो । जल तथा मौसम विज्ञान विभागले ७ असोजमै विशेष बुलेटिन जारी गरेर भोलिपल्टदेखि १२ असोजसम्म सातै प्रदेशमा वर्षा सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचित गरेपनि सरकार लपस्तरो देखियो ।
सरकारी निकायले नै भीषण वर्षा हुनसक्छ भनिसकेको अवस्थामा जोखिम क्षेत्रहरुको पहिचान गर्ने, त्यहाँ बसोबास गरिरहेकाहरुलाई सुरक्षित स्थानमा लैजान सकिन्थ्यो । नदीमा पानीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दालाई सूचना दिने संयन्त्र बनाउन सकिन्थ्यो । तर सरकारले कतिसम्म जोखिम हुनसक्छ भनेर सोध्न समेत आवश्यक ठानेन । मौसमविदले नेपालभर यो मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याउँदै बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लालाई रेड जोन अर्थात् अति जोखिम क्षेत्रमा राखेर उच्च सतर्कता अपनाउनुपर्ने बताएका थिए तर सरकार रमिते बनेर हेरिर¥यो । सूचना तीन तहकै सरकार, सुरक्षा संयन्त्रदेखि विपद् व्यवस्थापन हेर्ने निकायले नपाएका होइनन् । तर विपदपूर्व जति तयारी गर्नुपर्थ्यो, त्यति भएको देखिएन ।
सरकारी संयन्त्रले पुरानै कामचलाउ शैलीमा तयारी थाल्यो । बिहीबार रातिदेखि पानी भीषण पर्न थालेको थियो । तर सरकारले शुक्रबार नदीको सतह बढेको देखेपछि मात्रै काठमाडौंबाट छुट्ने रात्री बस चलाउन रोक लगायो । अनि, नदीको तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहने ‘अर्लट म्यासेज’ पठायो । त्यस बेलासम्म विपद्सँग जुध्न अबेला भइसकेको थियो । सरकार विपदको बेला असफल भएपछि सरकारको बचाउ गर्न आएका गृहमन्त्री रमेश लेखकले अविरल वर्षपछिको बाढी, पहिरो र डुबानबाट हुन क्षति न्यूनीकरणमा सरकारले गरेको पूर्वतयारीले सहयोग पुगेको बताउन भ्याए । विपद्बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको गृहमन्त्री लेखकले दाबी गरेपनि रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ ।
विपद व्यवस्थापनमा सरकाले देखाएको फितलो तयारीपछि रास्वपाले टिप्पणी गरेको छ । जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको कार्यबाहक प्रवक्ता मनिष झाल बताए । ‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन’, झाले भने, ‘२ दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।’ सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानहरुलाई लखेट्न मात्र रहेको उनको टिप्पणी छ ।